काठमाडौं ११ जेठ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ ।
तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था नरहेको भन्दै मलको डिपो पन्छिएको गोमाले अनलाइनखबरलाई बताइन् ।
गोमाका अनुसार बजारमा कालो बजारीमा मल पाइने हल्ला सुनिएको छ । एक बोरा मललाई ५ हजार रुपैयाँ तिरे पाइन्छ भन्ने सुनेको उनले बताइन् ।धादिङ धुनिबेसी-१ की निर्मला उप्रेतीले पनि बजारमा रासायनिक मल नपाएको गुनासो गरिन् । तरकारी र बारीमा लगाएको मकैमा हाल्न मल नपाइएको उनको भनाइ छ ।
‘डिपो र पसलले मल छैन भनेको छ,’ उप्रेतीले भनिन्, ‘धेरै वर्षदेखि मलमा हैरानी खेपियो । धानका लागि खेतमा हाल्नका लागि पनि मल जोहो गर्नु पर्यो ।’सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । चितवनकी तरकारी किसान धनु अधिकारीले पनि मल नपाएको बताइन् । पाएको मल पनि निकै महँगो भएको बताइन् ।
‘आजभन्दा ६ महिना अगाडि ९ सयमा पाउने युरिया मल आज मैले २ हजार २५० रुपैयाँमा किनेर ल्याएँ, त्यो पनि महिनौ दिन कुरेर ,’ अधिकारीले भनिन्, ‘कठै मेरो देश ! कहाँनिरबाट प्रशंसा गरुँ म मेरो देश, नेपाल कृषि प्रधान देश हो भनेर र म यो देशको किसान हुँ भनेर ।’
मल खरिदमा २७ अर्ब बजेट
सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरुको गुनासो छ ।
नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैं मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । तर, अहिले साल्टसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल छ ।
सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।यो रकमबाट करिब ४ सय मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखिएकामा विभिन्न कारणले झन्झट देखिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘ठेक्का प्रक्रियाबाट पनि सबै मल आएन, जीटूजीबाट पनि प्रक्रिया अघि बढीरहेको छ’ सञ्जेलले भने ।
ADVERTISEMENT