लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन जोड
zeenepal
२०८१ आश्विन २८,
12
Shares
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु संग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामायिक बिषयमा छलफल गरेका छन ।प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदायसंग समन्वय लगायतका बिषयमा छलफल गरेका हुन । चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले सार्वजनिक सुरक्षा अवस्थामा सुधार आएको, आगामी दिनमा हुने मेला, पर्व तथा जात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको छ ।
छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपदले निम्त्याउने समस्या न्यूनिकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैं तयारी अवस्थामा रहन निर्देशन दिए । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिनेगरी योजना निर्माण गर्न जोड दिए ।
समुदायसंग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्धार, पुर्नस्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरुलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने बिषयमा समेत ध्यान दिन आग्रह गरे ।यस्तै अपराध नियन्त्रण, कानुनी शासनको सुदृढिकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो । छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरु सहभागी थिए ।