
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा स्पष्टरुपमा प्रतिबद्धता राख्न चाहन्छु ।” नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उनले जानकारी दिए । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उनले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताए ।