कोशी प्रदेश : आन्दोलनको नेतृत्व गर्ने दल नै विभाजित !
zeenepal
२०८० बैशाख १८,
3
Shares
विराटनगर । कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल भने विभाजित भएको छ । कोशी प्रदेशमा लिम्बुवान राज्य माग गर्दै जन्मिएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको हो । उक्त पार्टीको नेतृत्व कुमार लिङ्देनले गर्दै आएका थिए । लिङ्देनलाई कारबाही गरेको घोषणा गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्व नागरिक उन्मुक्तिमा मिलेको घोषणा गरिएको हो । गत वैशाख १२ गते मञ्चको बैठक दमकमा बसेको थियो । बैठकले अध्यक्ष लिङ्देनलाई कारबाही गरेको थियो । बैठकमा गुरुङले लिङ्देनलाई ४४ बुँदे अभियोगपत्र पेश गरेका थिए । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी मञ्चको विभाजित पार्टीसँगै कोचिला एकता संघर्ष समिति तथा नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुङले पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियान कोशी प्रदेशमा पहिचानको माग गर्दै कोशी नाम खारेजको पक्षमा भइरहेको आन्दोलनमा सहभागी हुँदै आएका थिए । पार्टी एकीकरण गर्ने विषयमा लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेको गुरुङले जानकारी दिए । उन्मुक्ति पार्टीसँग एकता भइसकेपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी एकीकृत राखिएको छ । केन्द्रीय समिति ६९ जनाको रहने र १५ सदस्य पदाधिकारी हुने सहमति भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव ३, सचिव ७ र सहसचिव ३ जना रहने भएका छन् ।
उक्त पार्टीले शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।यता कुमार लिङ्देनले भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कसैसँग एकीकरण नगरेको बताएका छन् । दुई प्रतिशत कार्यकर्ता मात्रै आफ्नो पार्टीबाट गएको उनले दाबी गरे । लिङ्देनले २८५ जना संघीय कार्यसमिति रहेको बताउँदै पार्टी फुटाएर जानेहरुले ४० प्रतिशत पुर्याउनै नसक्ने बताए । ‘हावातालमा पार्टीभित्र भ्रम छरेर एउटा सानो समूह मात्रै बाहिरिएको हो,’ उनले भने, ‘दुई वर्षदेखि उनीहरु निष्क्रिय थिए । पहिचानको आन्दोलनमा पनि असहयोग गरिरहेका थिए । निर्वाचनमा पनि उनीहरुको असहयोग रह्यो । यस्तो अवस्थामा उहाँहरु बाहिरिएकै राम्रो भयो नि । त्यहाँबाट राम्रो गर्नुहोस् भन्ने मेरो सुझाव छ ।’