२४ वैशाख, वीरगञ्ज । व्यापारिक परिवारमा जन्मिएर उद्योग–व्यावसायको क्षेत्रमा प्रगति गरेका वीरगञ्जका विजय सरावगी पछिल्लो समय ‘राजनीतिक खेलाडी’को रुपमा चर्चित छन् ।
राजनीतिक अवसरका लागि दल बदल्नमा माहिर कहलिएका उनी यस पटक नेकपा एमालेको तर्फबाट दोस्रो कार्यकालका लागि वीरगञ्ज महानगरपालिकाको मेयर जित्ने अभियानमा छन् ।
२०७४ सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट उठेर १९ हजार ३९३ मतका साथ मेयर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १७ हजार १९७ मत पाएका थिए ।
२०२४ सालमा जन्मिएका सरावगी २०६२/०६३ सालसम्म उद्योग–व्यवसायमै केन्द्रित थिए । वीरगञ्जकै हरि खेतान क्याम्पसबाट कमर्शमा स्नातक गरेर पारिवारिक व्यवसाय फैलाएका उनले मधेश आन्दोलनपछि राजनीतिमा अवसर देखे ।
२०६२/६३ सालको जनआन्दोलन र त्यसलगत्तैको मधेश आन्दोलनताका सरावगी वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । नेपाल उद्योग वाणिज्य महासंघको पनि तीनपटक कार्यकारिणी सदस्य बने उनी ।
व्यवसायबाट राजनीति
व्यापारबाट राजनीतिमा आएर चाहेको पद हात पार्ने सीमित पात्रमा पर्छन् सरावगी । सरावगी ग्रुपमार्फत उद्योग–व्यवसाय गरेका उनको परिवारको शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय संस्था, मेडिकल कलेज लगायत क्षेत्रमा लगानी छ ।
राजनीतिमा अवसर खोजिरहेका सरावगीले २०७४ सालको स्थानीय निर्वाचनभन्दा ६ महिनाअघि संघीय समाजवादी फोरममा प्रवेश गरेर मेयरको टिकट लिएका थिए ।
अवसरको लागि दलबदलको अभ्यासलाई उनले यस पटक पनि जारी राखे । गत फागुन अन्तिम साता नेकपा (एमाले) प्रवेश गरेको उनी त्यसको केही दिनमै टिकट हात पारेर अहिले महानगर प्रमुखको चुनावी धपेडीमा छन् ।
एमालेले वीरगञ्जको उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समर्थन गरेको छ । लोसपाभित्रको मतभेदले भने सरावगीको विजयलाई सहज बनाउन सक्ने एमाले नेता कार्यकर्ताको अनुमान छ ।
सबल र दुर्बल पक्ष
अघिल्लो निर्वाचनमा ८ हजार ६८८ मत पाएका एमालेका मेयर उम्मेदवार बसरुद्दिन अन्सारीले सरावगीलाई साथ दिएका छन् । सरावगीको प्रवेशपछि वीरगञ्जमा एमालेभित्र शक्ति संचार भएजस्तो देखिएको छ । यसलाई पनि उनको सबलता मानिएको छ ।
एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा गएका पर्साका पुराना नेताहरू नागेन्द्र चौधरी, चिरञ्जिवी आचार्य, बालगोपाल थापा, रामचन्द्र साह लगायतको सक्रियताले भने सरावगीको लागि प्रतिकूलता बढाएको छ ।
समाज सेवाका लागि राजनीतिमा आएको बताउने गरेका विजय सरावगीमाथि ‘भनाइ अनुसार गराइ नभएको’ आरोप लाग्ने गरेको छ । मेयरको हैसियतमा महानगरपालिबाट पाउने कुनैपनि किसिमको सेवा सुविधा नलिने घोषणा गरेका उनले महानगरको बजेटबाट डेढ करोड रुपैयाँमा पजेरो किनेर चढिरहेका छन् ।
त्यसमा आलोचना हुँदा सरावगीले कहिले ‘गृह मन्त्रालयको सल्लाहअनुसार सुरक्षाको लागि सरकारी गाडी चढ्नु परेको’ त कहिले ‘राष्ट्रपति, प्रधानमन्त्री वीरगञ्ज आउँदा चढाउने गतिलो गाडी नभएकोले पजेरो किन्न परेको’ भन्ने गरेका छन् ।
कोरोना महामारीका बेला भने वीरगञ्जमा मेयर सरावगीले प्रशंसा नै कमाए । उनी नारायणी अस्पतालमा पीसीआर मेसिन राख्ने र छुट्टै कोरोना अस्पताल चलाउनेदेखि घरघरमा औषधि, अक्सिजन पुर्याउनेसम्मका काममा सकृय भए ।
भोजपुरी प्रतिष्ठान स्थापनाको लागि सरावगीले लिएको पहलकदमी पनि प्रसंशनीय रह्यो । यसबाट स्थानीय भाषा–संस्कृति र कला–साहित्य प्रवर्द्धन हुने आम बुझाइ छ ।
एमालेको बलियो संगठन, आफ्नै आर्थिक सवलता र सक्रियता सरावगीका चुनावी अनुकूलता हुन् । अघिल्लो कार्यकालको चुनावी घोषणापत्र ‘मेरो कसम’ भुलेको, कर बढाएको, मधेस आन्दोलनको रापतापमा मधेसवादी भएको, दोस्रो चुनावको मुखमा आएर दल बदलेर चरम अवसरवादी देखाएको आरोपहरु भने उनको दुर्वल पक्ष हुन् ।
क्षमताभन्दा बाहिर करोडौंको आयोजनाको कुरा गर्ने तर जनताको दैनिकीसँग जोडिएको समस्या नदेख्ने जस्ता आरोप चिर्दै अगाडि बढ्नुपर्ने चुनौती उनको अगाडि छ ।
‘अघिल्लो पटक हामी महानगरपालिकामा प्रवेश गर्दा न योजनाहरू थिए न त स्रोत । ३६ करोड ऋण र १७ करोड आम्दानी थियो’, सरावगी भन्छन्, ‘त्यस्तो परिस्थितिमा काम गर्न मुश्किल भयो । अब भने स्रोत कहाँबाट जुटाउने मैले थाहा पाइसकेँ । त्यसैको लागि मेरो उमेदवारी हो ।’
कोरोना महमारीकाबीच अघिल्लो कार्यकालमा विकासको जग बसाएकोले यो पटक वीरगञ्जमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी पनि उनले गरे ।
ADVERTISEMENT