
किसानका समस्याप्रति आफू सधैँ संवेदनशील रहेको र भविष्यमा किसानका लागि प्रभावकारी परियोजनाहरू नवलपरासीले पाउने पनि चौधरीले बताए । सांसद चौधरीले हरेक वर्ष वर्षा याममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि उर्जामन्त्रीको ध्यानाकर्षण गराए । उनले ६५ वर्षअघि नेपाल–भारतबिचको ऐतिहासिक सम्झौता भएको गण्डक परियोजनाका बारेमा भारतीय पक्षसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने खाँचो औँल्याए ।
वर्षा सुरु हुने बित्तिकै यो क्षेत्रका जनताहरू त्रासमा बाँच्नुपर्ने अवस्था छ । डुबान र कटानको समस्या हरेक वर्ष भोगिरहनुपरेको छ । यसको निकासका लागि हामीले भारतीय पक्षसँग गम्भीरतापूर्वक संवाद गर्न जरुरी छ, यसका लागि मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु,’ उनले भने, ‘नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने काम पनि गर्न जरुरी छ । यो क्षेत्रको जुन डुबानको समस्या छ, त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान गर्न ढिलाइ गर्नुहुन्न ।’
आज उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनेछ । मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘माननीय विनोदजीले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ । त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ । त्यस्तै यहाँ कार्यरत अधिकृतहरू पनि उच्च स्तरको भइदिए काममा झन् सजिलो हुन्थ्यो । हामीले ६५ वर्ष जुन कष्टका साथ व्यतीत गरेका छौँ, अब यो समय लामो जान दिनुहुँदैन भन्नेमा हामी प्रतिबद्ध छौँ । यसका लागि सरकार गम्भीर छ । पश्चिम नवलपरासीमा आफू दोस्रो पटक आएको र यहाँका समस्यासँग जानकार रहेको उल्लेख गर्दै मन्त्री खड्काले सांसद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय रहेको बताए ।