नेपालगञ्ज १ जेठ : नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा जसपा–कांग्रेस गठबन्धनका प्रशान्त विष्टले अग्रता लिने क्रम कायमै रहेको बेलामा एमालेका पशुपति दयाल मिश्राले राप्रपाका नन्दलाल बैश्यलाई पछाडि पार्दै दोस्रो स्थानमा पुगेका छन ।
पछिल्लो मत गणनाको प्राप्त परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । उनी पनि गठबन्धनका उम्मेदवार हुन । राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ । नेपालगञ्जमा ८१,७९४ मतदाता मध्ये ६१,२०५ मत खसेको थियो ।
ADVERTISEMENT