काठमाडौं ३ असार। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरूसँग समेत भेटघाट गर्नुभएको थियो । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त गरे ।