काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ ।सिंहदरवारस्थित समितिको सभाकक्षमै पाण्डेसँग सोधपुछ भएको हो ।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कुटनतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो । यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिएको छ ।
तर, २ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निश्कृय बनाउने भाषा समेत विधेयकको प्रतिवेदनमा सँगै परेको भनेर प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति बनेको हो ।नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले संघीय संसद सचिवालयका महासचिव पाण्डेयसँग समेत सोधपुछ गरेको हो ।

