वीरगञ्ज । रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनी उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्।
घरदैलो अभियानका क्रममा स्थानीयवासी र युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले विगतका राजनीतिक दल र उम्मेदवारहरूले विकास, रोजगारी तथा पूर्वाधारका विषयमा आश्वासन मात्र दिएको तर व्यवहारमा परिणाम नदेखिएको भन्दै गुनासो व्यक्त गरेका थिए।
युवाहरूले चुनावका बेला मात्र रोजगारीको वाचा गर्ने र निर्वाचित भएपछि बेवास्ता गर्ने प्रवृत्तिका नेताहरूलाई यसपटक अस्वीकार गर्दै सक्षम र नयाँ नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयहरूले पार्टी अध्यक्ष कुलमान घिसिङको काम गर्ने शैलीप्रति सकारात्मक धारणा व्यक्त गर्दै उम्मेदवार सिंहप्रति समर्थन जनाएका थिए।
उम्मेदवार सिंहले निर्वाचित भएलगत्तै स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे। उनले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाउने भन्दै स्थानीय उद्योग तथा कलकारखानामा दक्ष र स्थानीय जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
यसअघि वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याएर क्षेत्रको विकासका मुद्दा प्रभावकारी रूपमा उठाउने उनले बताए। कार्यक्रममा स्थानीयवासीले उम्मेदवार सिंहलाई विजयको शुभकामना व्यक्त गरेका थिए।

