काठमाडौँ — ओमानस्थित नेपाली दूतावासको समन्वयमा सामाजिक सुरक्षा कोषले मस्कट र सोहारमा सामाजिक सुरक्षा सेवा प्रदान गरेको छ । योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्न मस्कट र सोहारमा शुक्रबार, शनिबार र सोमबार सेवा प्रदान गरिएको हो । मस्कटमा मात्रै २१५ जनालाई सेवा दिइएको हो ।ओमानका लागि राजदूत डोरनाथ अर्यालले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्नको लागि सेवा दिइएको बताए ।
ओमानमा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षाको महत्ववारे जानकारी दिन कोषबाट उपकार्यकारी निर्देशक विवेक पन्थीको नेतृत्वमा तीन सदस्यीय टोली मस्कत पुगेका थिए । जसमा सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाईं रहेका छन् । पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे विस्तृत रूपमा जानकारी दिइएको थियो ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूलाई सामाजिक सुरक्षा प्रणालीका बारेमा पर्याप्त जानकारी नभएको बताएका थिए । उनीहरुले यो सेवालाई निरन्तरता दिन सामाजिक सुरक्षा र श्रम स्वीकृतिसम्बन्धी सेवा दूतावासबाटै प्रदान गर्न अनुरोध गरेका थिए ।
दूतावास र कोषले सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण दिइएको थियो । नयाँ प्रशिक्षकमार्फत सामाजिक सुरक्षामा आबद्धतासम्बन्धी जानकारी एवं सेवा प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

