काठमाडौं । प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसका लागि सबै राजनीतिक दलहरू तयार भएको र यसअनुसार सन्देश प्रवाह भइसकेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।सर्वदलीय संयन्त्र बनाउने विषयमा दुई चरणको छलफल भयो । दोस्रो चरणको छलफलपछि जिल्ला र स्थानीय तहमा विपद्बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसअनुसार काम अगाडि बढेको पनि छ,’ प्रवक्ता खरेलले भने ।
उनका अनुसार केन्द्रमा संयन्त्र बनाउने विषयमा दुई किसिमका छलफल भएका छन् ।संसदीय समिति बनाउने विषय आएको छ । संसद् बाहिर संयन्त्र बनाउने विषय आएको छ ।संसदीय समिति बनाउँदा कानुनी अधिकार हुने र समानान्तर सरकार जस्तो हुन सक्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्र बाहिर नै बनाएर जाने विषय पनि उठेको छ ।उनका अनुसार अनौपचारिक रुपमा यसबारे छलफल चलिरहेको छ ।‘शीर्ष नेताहरू सम्मिलित संयन्त्र बनाउने र त्यसले नीतिगत विषयमा नेतृत्व गर्ने भन्ने छलफल छ । यस्तोमा टप लेभलको संयन्त्र अन्तर्गत अर्को टाक्स फोर्स बनाउने भनेर कुराकानी भएको छ,’ खरेलले जानकारी दिए ।यसो गरिए शीर्ष नेताहरूले नीतिगत रुपमा गाइडेन्स गर्ने र टास्क फोर्सले विपद्बारे थप काम गर्ने गरी जान सकिन्छ भन्ने मत रहेको छ ।उनका अनुसार विपद्बारे दीर्घकालीन रुपमै काम गर्ने गरी स्थायी प्रकृतिको संयन्त्र बनाएर जानेबारे पनि छलफल चलिरहेको छ ।प्रवक्ता खरेलले भनेका छन्, ‘सरकार जसको भए पनि विपद्बारे दीर्घकालीन रुपमै काम गर्ने गरी स्थायी प्रकृतिको उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर जान सकियो भने यो प्रभावकारी हुन्छ भन्ने पनि आएको छ ।खरेलका अनुसार यी छलफलबाट एउटा टुंगोमा पुगेर छिट्टै केन्द्र स्तरमा पनि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन हुनेछ ।

