नेपालगञ्ज : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् ।बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको हो ।
मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए ।मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउदै यो निर्माणले बाँके लगायत नेपालगञ्जसमेतको महत्व बढाउने आफुले विश्वास लिएको कुरामा जोड दिए । उनले सिचाईको क्षेत्रमा पनि विद्युत सव स्टेशन निर्माणले ठूलो टेवा पुग्ने कुरामा जोड दिए ।कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ । दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२/३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।