नेपालगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगको २५औं रजत बार्षिकोत्सब नेपालगञ्जमा पनि मनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जले २५औं स्थापना दिवसमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख चौधरीले मानव अधिकारको कार्यान्वयन विभेदकारी हुन नहुनेमा जोड दिए । चौधरीले मानव अधिकार सबैका लागि बराबर हुनुपर्ने धारणा राखे ।
उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलाशका बरिष्ठतम् न्यायाधिश चन्द्र बहादुर सारुले संयुक्त राष्ट्र संघले राष्ट्रिय मानव अधिकार आयोगको भूमिकालाई 'ए' ग्रेडमा राखेकोमा खुशी व्यक्त गर्दै आयोगले आफ्नो भूमिकालाई थप परिष्कृत गर्दै जानुपर्ने सुझाव दिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, दलित महिला संघका अध्यक्ष निर्मला सुनार लगायतले आयोगको भूमिकालाई थप कसिलो बनाउँदै लानुपर्ने सुझाव दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन आयोगका अधिकृत दयाराम पाठकले गरेका थिए भने स्वागत अर्का अधिकृत धनराज शाहीले गरेका थिए ।
ADVERTISEMENT

