काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् ।संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा राष्ट्रपति पौडेलले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताएका हुन् ।
उनले भने, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईँहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको बताए । राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद् र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दा बल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताए ।
ADVERTISEMENT

