काठमाडौँ — प्रदर्शनकारीले २४ भदौमा विभिन्न अदालतमा आगजनी र तोडफोड गर्दा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिलसमेत नष्ट भएका छन् । आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको सर्वोच्च अदालतको प्रारम्भिक विवरण छ ।काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली भुटानी शरणार्थी, सिभिल सहकारी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजस्ता चर्चित मुद्दाका मिसिल नष्ट भएका छन् ।
सर्वोच्च अदालतमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सशस्त्र द्वन्द्वको हत्यासम्बन्धी, ५२ संवैधानिक पदाधिकारीको फैसलाको पूर्णपाठ, छायादेवी कम्प्लेक्स, सुडान काण्ड, वाइडबडी विमान खरिद, मैना सुनुवारको हत्या, अन्तःशुल्क, एनसेलको करजस्ता चर्चित मुद्दाका फाइल पनि नष्ट भएका छन् । सर्वोच्चको संवैधानिक इजलासका फाइल, अभियान फाँटका मुद्दा पनि जलेका छन् ।सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले फैसला भइसकेका र कानुन पत्रिकामा प्रकाशन गर्ने तयारीमा रहेका मुद्दाका मिसिलहरूसमेत जलेको जानकारी दिए । २२ भदौका तथ्यांकअनुसार देशभरका अदालतमा करिब २ लाख मुद्दा चालु अवस्थामा थिए । सर्वोच्चमा चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ थानमध्ये २० हजार ३४ मुद्दाको मिसिल जलेका छन् ।सर्वोच्चले रिटतर्फ २५ सय ९ र मुद्दामा १६ सय ९१ वटाको मिसिल मात्र फेला पारेको हो । अभिलेखतर्फ १ लाख ९७ हजार मुद्दाको फाइल नष्ट भएका छन् । प्रवक्ता कोइरालाका अनुसार चालु मुद्दा अन्यत्र पनि हुने भएकाले फर्काउन सकिन्छ । ‘तर अभिलेखमा रहेका मुद्दा अदालतमा मात्र हुने भएकाले पुनः मिसिल खडा गर्न असम्भव नै हुन्छ,’ उनले भने । चालु मुद्दाको फाइल खडा गर्ने प्रक्रिया सर्वोच्चले सुरु गरिसकेको छ ।

