नेपालगन्ज : पूर्व खेलाडी समाज बाँकेले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । समाजले स्वीमिङ, शारिरीक सुगठन र महिला/पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न लागेको हो । समाजले गतवर्ष पनि ब्याडमिन्टन, भलिबल र स्वीमिङ प्रतियोगिता सञ्चालन गरेको थियो । आयोजक पूर्व खेलाडी समाज बाँकेले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दियो । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठले भोलि (जेठ २९ गते) स्वीमिङ प्रतियोगिता, जेठ ३१ गते आइतबार शारिरीक सुगठन प्रतियोगिता र असार पहिलो साता महिला/पुरुष हक्की प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार स्वीमिङ र हक्की प्रतियोगिता नेपालगन्ज रंगशाला परिसरभित्र हुनेछ भने शारीरिक सुगठन प्रतियोगिता नेपालगन्ज वीपी चोकस्थित सुनाखरी कटेजको हलमा सञ्चालन हुनेछ । तीन वटै प्रतियोगिताको कुल लागत करिव ८ लाख रुपैयाँ रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिए । जसमा नेपालगन्ज उपमहानगरपालिकाबाट ४ लाख, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट २ लाख ५० हजार र बाँकी १ लाख ५० हजार रुपैयाँ विभिन्न ब्यवसायिक प्रतिष्ठान, पूर्व खेलाडी समाज बाँकेको रहने उनले बताए ।
ADVERTISEMENT

