काठमाडौँ — बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानबाट सञ्चालनमा आएको छ ।कात्तिक १६ बाट आंशिक रुपमा सञ्चालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द भएको थियो । त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट applydlnew.dotm.gov.np पनि सञ्चालन आएको छ ।
पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले बताए । ‘अब लाइन जाँदा पनि सिस्टम बन्द हुँदैन,’ उनले भने, ‘जेनेरेटर त थियो, तर लामो समय लाइन जाँदा धान्न सक्ने अवस्था नभएर समस्या आएको हो ।’
अब लाइन जाँदा ब्याट्री र जेनेरेटरले प्रणाली चल्ने उनको भनाइ छ । उनका अनुसार देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये अहिले ३८ वटाबाट मात्र यो सेवा सञ्चालनमा छ । रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । यी कार्यालयहरुबाट सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने निर्देशक खतिवडाले बताए ।

