काठमाडौँ । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो । किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचयपत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा सञ्जीव पण्डितले जानकारी दिए । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ ।
केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ । किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन, कृषि व्यवसायलगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ ।कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् । अहिलेसम्म २६ लाख बढी किसान सूचीकरणमा आबद्ध भएका छन् । बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।
ADVERTISEMENT

