काठमाडौँ — मधेश प्रदेशको सरकार गठनविरुद्ध बहुमत सांसदसहितले दर्ता गराएको रिटमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदै छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ । पेशी पहिलो नम्बरमै तोकिएको छ । यसअघि संयुक्त इजलासले अन्तिम सुनुवाइको मिति तोकेको थियो । हेर्न नमिल्ने र अन्य कुनै कारणले मुद्दाको सुनुवाइ नसरेमा निरन्तर सुनुवाइ गरेर अन्तिम निर्णय दिने तयारीमा सर्वोच्च अदालत रहेको छ । तत्कालै टुंग्याउनुपर्ने भन्दै सर्वोच्चले प्राथमिकता दिएर पेशी तोकेको थियो । मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई दुवै पक्षको बहस हुन लागेको हो ।
प्रदेश प्रमुखले होटलमै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो । त्यस्तै सर्वोच्चले कात्तिक २३ गते एमालेका सांसद यादवलाई मुख्यमन्त्री नियुक्त गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न आदेश गरेको थियो । त्यसपछि सुनुवाइको पेशी तोकिने तर सुनुवाइ नहुने हुदै आएको छ ।
एमालेबाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो।
मधेश प्रदेशमा १ सय ७ जना सांसद छन्। सरकार बनाउन ५४ सांसद बहुमत संख्या हो। एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा ९एस० ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ हो।प्रदेश प्रमुखले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिवासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालत पनि पुगेको हो।

