काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसका लागि निर्धारण गरिएको १५औं महाधिवेशन सौहार्द वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।महाराजगञ्जस्थित भाडाको निवासमा बिहीबार भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँग उनले २६–२८ पुसमा तोकिएको महाधिवेशन सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका हुन् सभापति देउवाले युवा नेताहरूलाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए । भेटबारे युवा नेता सरोज थापाले भने, ‘सभापतिज्यूबाट १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने र हामीलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न भन्नुभयो ।’
सभापति देउवाले युवा नेताहरूलाई १५ औं महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिए । उनले पार्टी नियमित महाधिवेशनमा अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक भएको बताए ।नियमित महाधिवेशनमा पार्टी अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक भएको र यस्ता आशंका र प्रचारबाजीलाई युवा/विद्यार्थीले चिर्दै अघि बढ्नुपर्छ भन्नुभयो,’ नेता थापाले भने ।
भेटमा सहभागी नेताहरूले सभापति देउवासँग निर्धारित समयमा नियमित महाधिवेशन गर्न, वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया अघि वढाउन र महाधिवेशनमा युवाको उल्लेखनीय उपस्थिति गराउन युवा, विद्यार्थीहरूको भूमिकाबारेमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शिता हासिल गरेका युवा र नवयुवालाई नयाँ अनुहारका रूपमा निर्वाचनमा अघि सार्न माग गरिएको थापाले जानकारी दिए ।
देउवासँगको छलफलमा कांग्रेस बागलुङका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्खा, केन्द्रीय सदस्यहरू मनिषजंग थापा, गीता गुरूङ, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामालगायत नियमित महाधिवेशन पक्षधर युवा सहभागी थिए ।
ADVERTISEMENT

