कोहलपुर, : नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी नेपाली कांग्रेस रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर १ अन्तरगत कोहलपुर नगरपालिका वडा नम्बर १, ५, ६ र १५ मा मतदातासँगको भेटघाटका क्रममा उनले नेपाली कांग्रेस नै पछाडी परेका वर्ग, समुदायको हकहितका लागि अहिलेसम्म लडेको बताए । २००७ सालदेखी हालसम्म भएका हरेक परिवर्तनको अगुवाई पनि कांग्रेसले नै गरेको उनको भनाई छ ।
नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको नेतृत्वमा बनेको २०७२ को संविधानमा सबै जाती, वर्ग, समुदायको हक अधिकार सुनिश्चित रहेको उनले बताए । कांग्रेसले हरेक कालखण्डमा आफुलाई परिवर्तन गरेको स्मरण गर्दै पार्टीका जिल्ला सभापति समेत रहेका उम्मेदवार गौडेलले जेन–जी आन्दोलनपछि पनि आफ्नो नेतृत्व र नीति परिवर्तन गर्ने पहिलो पार्टी कांग्रेस नै भएको स्पष्ट पारे ।
नेपाली कांग्रेसले गरेको योगदानलाई मुल्यांकन गरेर फागुन २१ गते हुन लागेको निर्वाचनमा रुख चिन्हमा मतदान गरेर जिताउन उनले सबैलाई अपील गरे । कोहलपुर नगरपालिका वडा नम्बर १ मा भएको मतदाता भेटघाटका क्रममा वडा सभापति भोजेन्द्र रेग्मी, वडा नम्बर ५ मा भएको कार्यक्रममा वडासभापति फुलकुमारी थारु, वडा नम्बर ६ मा भएको कार्यक्रममा वडासभापति श्रीकृष्ण थारु र वडा नम्बर १५ मा भएको कार्यक्रममा वडा सभापति दुर्गाबहादुर हमालसहित पार्टीका जिल्ला सचिव सञ्जुकुमारी चौधरी, क्षेत्रीय सभापति पोषणराज केसी, विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT

