
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । जसमा करिव २ अर्व निर्यात हुँदा ५२ अर्व आयात भएको हो । नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा यो नाकाबाट ५३ अर्ब ९१ करोड ६३ लाख ९९ हजारको कारोबार भएको हो । जसमा आयात ५१ अर्ब ९८ करोड ३० लाख ७४ हजार र निर्यात १ अर्ब ९३ करोड ३३ लाख २५ हजार रुपियाँको भएको जनाइएको छ ।
भन्सार प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा यो नाकाबाट २ अर्ब ५८ करोड ६९ लाखभन्दा बढी अर्थात पाँच प्रतिशत कारोबार वृद्धि भएको बताए । उनले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा यो नाकाबाट ४९ अर्ब ३७ करोड ५५ लाख ६६ हजार रुपियाँको आयात र एक अर्ब ९५ करोड ३८ लाख ६३ हजारको निर्यात गरेर ५१ अर्ब ३२ करोड ९४ लाख २९ हजार रुपियाँको कारोबार भएको जानकारी दिए ।
गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि निर्यात भने २ करोडभन्दा बढी घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको आठ महिनामा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ भन्सार राजश्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा १२ अर्ब ६५ करोड ९६ लाख ३८ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।चालु आवमा गत आवको आठ महिनाको राजस्व संकलन भन्दा १० करोड रुपियाँ बढी राजस्व संकलन भएको देखिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।भन्सार कार्यालयका प्रमुख पौडेलले सबैभन्दा बढी व्यापार छिमेकी देश भारतसँग भएको जनाउँदै गत आठ महिनाको अवधीमा ४८ अर्ब ७८ करोड १७ लाख २७ हजार रुपियाँको कारोबार भएको बताए । उनले पाँच अर्बको कारोबार भने अन्य १९ वटा देशसँग भएको जनाए ।नेपालगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात हुने गरेको छ भने नेपालबाट सबैभन्दा बढी विभिन्न प्रकारका जडिबुटीको निर्यात हुने गरेको छ ।

