धनगढी — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कैलाली धनगढीस्थित फाप्लामा फ्लड लाइटसहितको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मल्टिपर्पोज इन्डोर हल निर्माण गरिने बताएका छन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालातथा स्पोर्ट्स भिलेज परियोजनाको शुक्रबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री लम्सालले उक्त संरचना निर्माणका लागि बजेट विनियोजन भइसकेकाले अब निर्माण अघि बढाइने बताए ।सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा फाप्लालाई ठेक्का प्रक्रियामा लैजानका लागि बजेट विनियोजन गरेको छ । 'आगामी आवमा टेन्डर आह्वान गरेर यसको निर्माण कार्य अघि बढाइने छ,' उनले भने । राष्ट्रिय गौरव र सुदूरपश्चिमको समृद्धिसँग जोडिएको आयोजनालाई समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री लम्सालले बताए । फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री लम्सालको स्थलगत भ्रमणले फाप्ला निर्माण कार्यलाई थप ऊर्जा, गति र आम जनतामा नयाँ विश्वास प्रदान गरेको बताए । 'सुदूरपश्चिम प्रदेशवासीको वर्षौंदेखिको ठूलो सपनाको एउटा चरण पूरा भएको छ, अब यसको निर्माणले गति लिन्छ भन्नेमा हामी विश्वस्त छौं,' अध्यक्ष शाहीले भने ।
धनगढी उपमहानगरपालिका–३ फप्लामा करिब दुई लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाका प्रारम्भिक तयारी पूरा भइसकेको छ । आयोजनाका लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको अध्यक्ष शाहीले बताए ।

