नेपालगन्ज । लगातार भइरहेको अविरल वर्षाका कारण बर्दिया जिल्लासहित देशका विभिन्न क्षेत्रमा किसानहरूले भोग्नुपरेको समस्या समाधानका लागि पूर्वमन्त्री अब्दुल खानले कृषि मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराउनुभएको छ। वर्षाका कारण कृषि क्षेत्रमा ठूलो असर परेको तथा किसानहरू थप दुःख र पीडामा परेको भन्दै पूर्वमन्त्री खानले किसानका समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्री चौधरीसँग आग्रह गर्नुभएको हो।
लामो समयदेखि मलखादको अभाव र विभिन्न कृषि समस्याको मार खेप्दै आएका किसानहरू अहिले अविरल वर्षाका कारण थप समस्यामा परेको उहाँले बताउनुभयो। विशेषगरी बर्दिया जिल्लालगायत देशका विभिन्न स्थानमा वर्षाका कारण कृषि उत्पादन, खेतबारी तथा किसानको दैनिक जीवनमा परेको असरबारे पूर्वमन्त्री खानले कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो। ध्यानाकर्षणपछि कृषि मन्त्री गीता चौधरीले किसानका समस्याबारे आवश्यक जानकारी लिने र मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्काल अघि बढाउने आश्वासन दिनुभएको छ।
मन्त्री चौधरीले वर्षाका कारण किसानमा परेको समस्या तथा कृषि क्षेत्रमा भएको क्षतिको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ। किसानहरूले यसअघि नै मलखादलगायत विभिन्न समस्याको सामना गर्दै आएको अवस्थामा पछिल्लो समयको अविरल वर्षाले थप चुनौती सिर्जना गरेको भन्दै सरकारले राहत, क्षति मूल्यांकन तथा आवश्यक कृषि सहयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने माग उठेको छ।
ADVERTISEMENT

