
नेपालगञ्ज । दसैँ नजिकिँदै जाँदा नेपालगञ्जसहित देशभरको अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै विभिन्न ब्रान्ड तथा डिलरहरूले नयाँ मोडल, आकर्षक अफर तथा बिक्री योजनाहरू सार्वजनिक गर्न थालेसँगै सवारी साधन खरिद गर्ने ग्राहकको चासो पनि बढेको व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय विशेषगरी विद्युतीय सवारीसाधन ईभि प्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको बढ्दो खर्च,विद्युतीय सवारीको प्रविधिमा आएको सुधार तथा सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुने भएकाले ईभि प्रति ग्राहकको रुचि बढिरहेको उनीहरूको अनुभव छ। यद्यपि, बजारमा बढ्दो माग अनुसार सवारी साधनको आपूर्ति भने सबै अवस्थामा सहज हुन नसकेको व्यवसायीहरू बताउँछन्। अटोमोबाइल व्यवसायमा १६ वर्षको अनुभव रहेका एक व्यवसायीका अनुसार दसैँको समयमा नयाँ गाडी खरिद गर्ने ग्राहकले मूल्य,ब्रान्ड र मोडलसँगै गाडी खरिदपछिको सेवा तथा सुविधालाई पनि प्रमुख आधार बनाउन आवश्यक छ । उनका अनुसार ईभि वा पेट्रोलमध्ये कुन सवारी रोज्ने कुन ब्रान्ड र कुन मोडल उपयुक्त हुन्छ भन्ने निर्णय महत्त्वपूर्ण भए पनि त्यससँगै बीमा,सर्भिस सेन्टर स्पेयर पार्ट्सको उपलब्धता र प्राविधिक सहयोगको अवस्थाबारे पनि ग्राहकले पर्याप्त जानकारी लिनुपर्छ ।बाँके स्थित रहेका इबी गाडीका डिलरका सञ्चालक निरञ्जन राज भण्डारीले बताउनुभएको छ। नेपालमा पछिल्लो समय ईभिकाको मार्केट बढेको छ उहाँले भन्नुभएको छ
गाडी किन्दा गाडी मात्र हेर्नु हुँदैन, गाडी किनेपछिको जीवन पनि हेर्नुपर्छ,उनी भन्छन्,भोलि गाडीमा समस्या आउँदा बीमा सुविधा कहाँ पाइन्छ,सर्भिस सेन्टर कहाँ छन्, स्पेयर पार्ट्स सहजै पाइन्छन् कि पाइँदैनन् र प्राविधिक सहयोग कति छिटो पाइन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । व्यवसायीका अनुसार सवारीसाधन खरिद गर्नुअघि सम्बन्धित आयातकर्ता तथा डिलरको आफ्टर–सेल्स सपोर्ट र सेवा सञ्जालबारे जानकारी लिनु आवश्यक छ । अत्याधुनिक प्रविधियुक्त र महँगो सवारीसाधन भए पनि दैनिक प्रयोगका क्रममा प्राविधिक समस्या आउन सक्ने भएकाले बिक्रीपछिको सेवा प्रणाली बलियो हुनु महत्त्वपूर्ण रहेको उनको भनाइ छ। विशेषगरी देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा समेत सवारीसाधन प्रयोग गर्ने ग्राहकले आफूले खरिद गर्न लागेको ब्रान्डको आफ्नो क्षेत्रमा रहेको सर्भिस नेटवर्क आवश्यक स्पेयर पार्ट्सको उपलब्धता तथा दक्ष प्राविधिक जनशक्तिको अवस्थाबारे बुझेर मात्र निर्णय लिनुपर्ने व्यवसायीको सुझाव छ। “ब्रान्डभन्दा अगाडि सर्भिस हेर्नुस्,गाडीभन्दा अगाडि त्यसको पछाडिको सर्भिस सपोर्ट हेर्नुस्,उनी भन्छन्
दसैँलाई लक्षित गरी विभिन्न ब्रान्ड तथा डिलरहरूले नयाँ मोडलसँगै नगद छुट, एक्सचेन्ज, फाइनान्स तथा अन्य आकर्षक योजना सार्वजनिक गरिरहेका छन्। यस्तो अवस्थामा ग्राहकले तत्काल देखिने अफर र आकर्षणभन्दा पनि सवारीसाधनको दीर्घकालीन उपयोगिता, सञ्चालन खर्च, मर्मतसम्भार तथा बिक्रीपछिको सेवाको अवस्थालाई प्राथमिकता दिनुपर्ने व्यवसायीहरूको सुझाव छ। गाडी खरिद गर्नु आर्थिक लगानीसँगै सुविधा र पारिवारिक आवश्यकता सँग जोडिएको विषय भएकाले क्षणिक आकर्षणका आधारमा भन्दा भविष्यमा सहज र सुरक्षित रूपमा प्रयोग गर्न सकिने सवारी छनोट गर्नुपर्ने उनीहरूको भनाइ छ । “गाडी राम्रो हुनु महत्त्वपूर्ण छ, तर गाडी किनेपछि साथ दिने सिस्टम राम्रो हुनु झनै महत्त्वपूर्ण छ,” व्यवसायीले भने ।

