सुर्खेत — राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने भन्दै प्रतियोगिता सर्नेमा अब कुनै द्विविधा नराख्न आग्रह गरेका छन्।पटक–पटक मिति सरेकाले आशंका उत्पन्न हुनु स्वाभाविक भए पनि आइतबार सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकसँगै प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढेको उनले बताए। ‘प्रतियोगिता औपचारिक रूपमा तोकिएको मितिबाट सुरु होला, तर यसको उत्साह र तयारी आजैबाट सुरु भएको छ,’ उनले भने, ‘अब दसौँ राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले पनि द्विविधा मान्नु पर्दैन।’
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई प्रतियोगिता सञ्चालनमा मात्र सीमित गर्न नहुने बताए। देशभरका गाउँ–गाउँमा रहेका खेलाडीलाई राष्ट्रियस्तरको अवसर दिनु यसको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ छ। दुर्गम तथा ग्रामीण क्षेत्रका प्रतिभालाई खेलकुदमार्फत अघि बढाउने र उनीहरूले खेलबाटै जीवन चलाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।संघीय, प्रदेश र स्थानीय सरकारले दसौँ राष्ट्रिय खेलकुदलाई साझा कार्यक्रमका रूपमा लिएर स्वामित्वका साथ अघि बढ्नुपर्ने उनको आग्रह छ। कुनै विषयमा असमझदारी भए त्यसलाई नकारात्मक रूपमा लिनुभन्दा आपसी समन्वयबाट समाधान गर्नुपर्ने भन्दै उनले प्रतियोगिताको उत्साह देशभर पुर्याउन आग्रह गरे। ‘ओलम्पिक र एसियाली खेलकुदका बेला जसरी उत्साहको वातावरण बन्छ, दसौँ राष्ट्रिय खेलकुदमा पनि त्यस्तै वातावरण देशभर बनाउनुपर्छ,’ उनले भने।कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक कर्णालीमै बसेकाले प्रतियोगिता निर्धारित ढंगले अघि बढ्ने स्पष्ट सन्देश गएको बताए। ‘विगतका आशंका अब अन्त्य भएका छन्। आजबाट हामी स्पष्ट लयमा अघि बढ्छौं,’ उनले भने।
मुख्यमन्त्री शाहीका अनुसार प्रदेश सरकारले प्रतियोगिताका लागि आवश्यक अधिकांश तयारी अघि बढाइसकेको छ। बाँकी कामलाई तीव्रता दिँदै संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार र खेल संघसंस्थाबीच समन्वय गरेर प्रतियोगिता सफल बनाइने उनले बताए।दसौं राष्ट्रिय खेलकुदलाई कर्णालीको खेलकुद विकाससँग जोड्नुपर्ने भन्दै उनले राजधानी वीरेन्द्रनगरसँगै प्रदेशका विभिन्न जिल्लामा खेल गतिविधि र तयारी अघि बढाइएको जानकारी दिए। राष्ट्रिय खेलकुद कर्णालीका लागि खेलाडी उत्पादन र खेल पूर्वाधार विस्तारको अवसरसमेत भएको उनले बताए।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकार पूर्वाधार र व्यवस्थापनको काममा प्रतिबद्ध भएर लागेको बताए। राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए।खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल भइरहेको उनले बताए। होटलको क्षमता, उपलब्धता र व्यवस्थापन अवस्थाबारे अध्ययन भइरहेको छ। प्रतियोगिताका क्रममा सुरक्षा व्यवस्थापनका लागि डीआईजीको नेतृत्वमा समिति गठन गरिएको र स्वास्थ्य सेवाका लागि प्रदेश सरकारको स्वास्थ्य टोलीसँग समन्वय भइरहेको उनले जानकारी दिए। ‘प्रदेश सरकार आयोजनाका लागि आवश्यक पूर्वाधार र सहयोग गर्न प्रतिबद्ध छ,’ मल्लले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएर प्रतियोगिता सफल बनाउनुपर्छ।’राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले दसौँ राष्ट्रिय खेलकुदलाई केवल प्रतियोगिताका रूपमा नभई लामो समयपछि आयोजना हुन लागेको खेलकुद उत्सवका रूपमा लिनुपर्ने बताए। व्यवस्थापनमा केही चुनौती देखिए पनि समाधान गर्दै अघि बढिरहेको उनले जानकारी दिए। उनका अनुसार आवास, खानेपानी, सुरक्षा र स्वास्थ्य सेवाको व्यवस्थापनबारे सरोकारवालासँग छलफल भइरहेको छ। होटलको क्षमता र व्यवस्थापन अवस्थाबारे अध्ययन गर्न समिति गठन गरिएको छ।
मेहताले पारा खेलकुदका लागि समेत बजेटको व्यवस्था गरिएको जानकारी दिए। नेपाल सरकारले चालु आर्थिक वर्षमा पारा खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्लाई तीन करोड रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएको उनले बताए। दसौँ राष्ट्रिय खेलकुद सम्पन्न भएलगत्तै पारा खेलकुदको मिति तय गरी तयारी अघि बढाउने योजना रहेको उनको भनाइ छ।
पारा खेलकुद कर्णालीमा गर्ने कि काठमाडौंमा भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको उनले बताए। सम्भव भएसम्म कर्णालीमै आयोजना गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। आइतबारको बैठकमा संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेशका सदस्यसचिव, खेल संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता थियो। बैठकले प्रतियोगिताको बाँकी तयारी समन्वयात्मक रूपमा अघि बढाउने र व्यवस्थापनका चुनौती सम्बन्धित निकायबीचको सहकार्यबाट समाधान गर्नेमा जोड दिएको छ।

