काठमाडौं । सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा करियर सुरु गरेका दीपक बराल अहिले सोही कम्पनीको नेपाल व्यवसायको नेतृत्व गर्ने कन्ट्री हेड बनेका छन्। दुई दशकभन्दा लामो व्यावसायिक यात्रामा उनले बिक्री, मार्केटिङ, सेल्स एक्टिभेसन, व्यवसाय विकास तथा वितरण व्यवस्थापनलगायत क्षेत्रमा काम गरेका छन्। एसियन पेन्ट्सबाहेक उनले सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट र सम्राट सिमेन्टमा पनि व्यवस्थापन तहको जिम्मेवारी सम्हालेका थिए।
२४ वर्षभन्दा लामो अनुभव भएका बराल सन् २०२४ मा पुनः एसियन पेन्ट्स नेपाल फर्किएका थिए। त्यसपछि हेड अफ सेल्स एन्ड मार्केटिङका रूपमा काम गर्दै आएका उनलाई अगस्ट २०२६ देखि नेपाल व्यवसायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो। कम्पनीका अनुसार एसियन पेन्ट्सको नेपाल व्यवसायको नेतृत्व गर्ने उनी पहिलो नेपाली हुन्। कम्पनीले सामाजिक सञ्जालमार्फत बराललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएको छ। एसियन पेन्ट्स नेपाल सन् १९८३ देखि नेपालमा सञ्चालनमा छ। हेटौँडा औद्योगिक क्षेत्रमा उत्पादन कारखाना रहेको कम्पनीले रंगसँगै वाटरप्रुफिङ र होम डेकोरसम्बन्धी उत्पादन तथा सेवा उपलब्ध गराउँदै आएको छ।
ADVERTISEMENT

