काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका हुन् । उनले सीमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए ।
त्यस्तै प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यावसायिक ढङ्गले काम गरिरहेको उल्लेख गरे । उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारे । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए । प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरूले पनि अवसर पाएको उनको भनाइ छ ।

