काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरू सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतः स्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको र यस्तो जनशक्ति हिजोका दिनहरूमा जस्तै आज पनि महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको कुरा बताएका छन् । उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरूको सहभागितामा सैनिक मञ्च टुँडिखेलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापतिले सो कुरा बताएका हुन् ।
सो अवसरमा नेपाली सेनाका सकलदर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास भइरहेको शर्माले जानकारी गराएका थिए । उनले हिताधिकारीको सेवा सुविधा विस्तारको लागि नयाँ नयाँ कार्यक्रमहरू समावेश गरेर मात्र नपुग्ने, त्यसका लागि सबै जना जिम्मेवार, जागरूक, लगनशील र उद्यमशील हुनुपर्ने कुरामा जोड दिए ।
समारोहमा ९९ (उनान्सय) वर्षकी ज्ञान कुमारी उपाध्यायलाई ज्येष्ठ एकल महिला सम्मान एवं ९७ वर्षका प्रमुख सुबेदार बेल बहादुर गुरुङ (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान प्रदान गरिएको थियो । १०० वर्षका अमल्दार खिमबहादुर बोहोरा क्षेत्री (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व शताब्दी पुरुषका रूपमा अभिनन्दनको व्यवस्था मिलाइएको थियो ।

