काठमाडौँ — म्याथ्यु हम्फ्रेजले ५ विकेट लिएपछि आयरल्यान्ड उल्भस (ए) ले पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर आएको घरेलु टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २५.३ ओभरमा १ सय ३६ रनमा अलआउट भयो ।सानो लक्ष्यमा नेपाल सानै स्कोरमा अलआउट देव्रहाते स्पिनर हम्फ्रेजले १० ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए ।
नेपालबाट शाहव आलमले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । शाहव र रिजन ढकालले नवौं विकेटमा ३४ रनको साझेदारी गरि नेपाललाई विजयतर्फ पुर्याएको समयमा हम्फ्रेजले शाहवलाई २५ औं ओभरमा आउट गरि महत्वपूर्ण साझेदारी तोडेका थिए ।त्यसको अर्को ओभरमा सागर (मौसम) ढकाल रन आउट भएपछि नेपाली टोली झन्डै आधा इनिङ्सको खेल बाँकी रहँदैं अलआउट भएको थियो । अर्का आइरिस बलर लिएम म्याकर्थीले ४ विकेट लिए । उनले ५ ओभरमा २९ रन खर्चे ।
नेपालबाट ओपनर देव खनालले २६ रन बनाएका थिए । उनले २२ बल खेली ४ चौका प्रहार गरे । देव र अर्जुन कुमालले पहिलो विकेटमा ५ ओभरमा ३५ रन जोडेका थिए । तर १० औं ओभरमा पुग्दा नेपाल ५६–६ को स्थितिमा पुगेको थियो ।कुमाल ९, भिम सार्की शुन्य, अर्जुन साउद ४, आरिफ शेख शुन्य, कप्तान विनोद भण्डारी ९ रनमा आउट भएका थिए । कमलसिंह ऐरीले ६ रन जोडे । खुलेर खेलेका बसिर अहमदले २० रन बनाए । उनले २१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । रिजन ३५ बल खेली १२ रनमा अविजित रहे ।
यसअघि कमलको हृयाटिक विकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भसलाई सानो स्कोरमा अलआउट गरेको थियो । कमलले अन्तिम ३ विकेट लगातार बलमा लिएपछि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।३९ औं ओभरमा आफ्नो सातौं ओभर लिएर आएका कमलले सो ओभरको पहिलो बलमा लिएम म्याकर्थीलाई मिडविकेटमा शाहव आलमबाट क्याच गराए । त्यसपछिको लगातार बलमा कमलले म्याथ्यु हम्फ्रेज र बेन हृवाइटलाई बोल्ड गरी हृयाट्रिक विकेट पुरा गरेका थिए ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड उल्भसविरुद्ध नेपाली खेलाडीको यो दोस्रो हृयाट्रिक विकेट हो । सोमपाल कामीले नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आयरल्यान्ड उल्भसविरुद्धको दोस्रो खेलमा पनि आफ्नो लगातार तीन बलमा विकेट लिएका थिए ।कमलले ६.३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । शाहव र मौसमले २–२ विकेट लिए । शाहवले ९ ओभरमा १ मेडन राख्दै २१ र मौसमले १० ओभरमा ५० रन खर्चेका थिए । अर्को एक विकेट रिजनले लिए ।
आइरिस टोलीबाट केड केरमाइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बल खेली ४ चौका प्रहार गरे । कप्तान निल रकले ३२ बल खेली २ चौका र ३ छक्कासहित ३९ रन बनाए । पिटर मुर २१ तथा जेम्स म्याकलम र स्टेफन डहनीले समान १२ रन बनाए ।आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीन एकदिवसीय शृंखला खेलिरहेको हो । आयरल्यान्ड ‘ए’ ले यसअघि नेपाली राष्ट्रिय टोलीसँगको दुबै ट्वान्टी २० खेल हारेको थियो भने नेपाल ‘ए’ सँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो ।