जमुनाह हेल्थ डेस्कद्वारा ८५ हजार ५ सयको कोरोना परिक्षण
zeenepal
२०७९ जेष्ठ ११,
12
Shares
नेपालगञ्ज ११ जेठ। भारतीय सीमापारीबाट आउनेमा नेपाली नागरिकमा कोरोना संक्रमण रहे नरहेको जाँच गर्नको लागि जमुनाह नाकामा स्थापना गरिएको हेल्थ डेस्कले करिब ९० हजार नागरिकको सीमा क्षेत्रमै कोरोना परिक्षण गरेको छ ।नेपालगञ्ज उपमहानगरद्वारा २०७७ चैतमा सञ्चालनमा ल्याईएको सो हेल्थ डेस्कले २०७९ जेठ ९ गतेसम्म ८५ हजार ५ सयको एन्टिजेनको माध्यामबाट कोरोना परिक्षण गरिएको हेल्थ डेस्कका ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार भारतबाट नेपाल आउदै गरेका नागरिकको कोरोना परिक्षण गर्दा १ हजार ३ सय २ जनामा कोरोना पुष्टि भएको छ । सीमा क्षेत्रमा कोरोना पुष्टि भएका संक्रमितमा चिन्ह लक्षण देखिएकालाई कोरोना अस्पताल र चिन्ह लक्षण नदेखिएकालाई आईशोलेशनमा पठाउने गरिएको छ ।
यसैगरी सोही हेल्थ डेस्कले भारतबाट नेपाल आउने १६ हजार ३ सयको औलो परिक्षण गर्दा ३ जनामा संक्रमण भेटाएको, १ हजार १ सय ५७ जनाको क्षयरोगको परिक्षण गर्न खकार परिक्षण गर्दा १० जनामा टिबि संक्रमण भएको पाईएको र २ सय ६० जनाको एचआईभि परिक्षण गर्दा संक्रमित फेला नपरेको हेल्थ डेस्कका ल्याब टेक्नेसियन ज्ञवालीले जानकारी दिए ।
उनले भने–‘ कोरोना परिक्षण भारतबाट आउने सबैको गर्ने गरेको छ । रुघा ज्वरोको लक्षण भएकालाई औला, क्षयरोगसमेतको परिक्षण गर्ने गरिएको र रेण्डम्ली एचआईभी परिक्षण गर्ने गरिएको छ ।’
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जमुनाह नाकामा रहेको हेल्थडेस्कले भारतबाट आउनेको एन्टिजेनका माध्यामबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउने र संक्रमण भएको पाईएमा उनीहरुलाई उपमहानगरले निर्माण गरेको आइशोलेशन सेन्टरमा पठाउने गरिएको बताए ।
उनले नेपालगञ्ज उपमहानगरमा कोरोना खोपको पहिलो मात्रा करिब ९८ प्रतिशतले लगाएको र दोस्रो मात्रा पनि सोही हाराहारीमा लगाउने प्रयास भएकोे जानकारी दिदै भने–‘पहिलो मात्रा पनि कोरोना खोप लगाउन नपाएका वा छुटेकालाई उपमहानगरले वडानं. ४ को स्वास्थ्य संस्थाबाट नियमित खोप लगाई रहेको छ । नेपालगञ्ज उपमहानगरले पहिलो र दोस्रो संक्रमणबाट पाठ सिकेर आगामी दिनमा विपदको बेलामा काम गर्न सहज होस भनेर विभिन्न गतिविधि समेत गर्दै आएको छ ।’