काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले ३६ अर्ब लगानी भएका र ३ हजार ५ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका मेल्टिङ प्लान्टलाई धराशायी बनाउने काम गरेको नेपाल फलामे छड उत्पादक संघले आरोप लगाएको छ । बजारमा माग घटेर घाटामा सञ्चालन भइरहेका मेल्टिङ उद्योगलाई भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउने सरकारको नीतिले थप समस्यामा पारेको भन्दै संघले आक्रोश व्यक्त गरेको हो ।
‘यदि सरकारले स्पन्ज आइरनमा एक तह फरक भन्सार लगाएन भने सबै उद्योग बन्द हुने तथा हामीहरूले गरेको रु. ३६ अर्ब लगानी डुब्ने निश्चित छ । हामी उद्योगको ताला चाबी सरकारलाई बुझाउन तयार छौँ,’ संघले चेतावनी दिएको छ । कच्चापदार्थ आयात गर्दै स्वदेशमा ५० प्रतिशत भ्यालु एडिसन गर्ने उद्योगलाई धराशायी बनाउँदै १२ प्रतिशत भन्दा कम भ्यालु एडिसन गर्ने उद्योगलाई पोस्न राज्यले किन नीति परिवर्तन गर्यो भन्दै संघले सरकारलाई प्रश्न गरेको छ ।

