मृगौला लिन पनि राधाले अदालतमा मुद्दा जित्नु पर्यो
zeenepal
२०७९ असार १७,
6
Shares
काठमाडौं १७ असार। उच्च अदालतको आदेशपछि एक दिदीले भाइको मृगौला प्रत्यारोपण गरेकी छन् । विरामीको बाच्न पाउने हक हनन हुने भन्दै उच्च अदालत पाटनले मृगौला प्रत्यारोपणमा अवरोध नगर्नु भनी आदेश दिएको हो ।
अदालतले आदेश दिनुअघि उनीहरु सहोदर दिदीभाइ नदेखिएको भन्दै किष्ट मेडिकल कलेजको मृगौला प्रत्यरोपण स्विकृत समितिले मृगौला प्रत्यरोपणको निर्णय गर्न अस्वीकार गरेको थियो ।
राधा महर्जनको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने थियो । दिदी विरामी भएपछि उनका भाइ हरिगोपाल प्रजापति आफ्नो मृगौला दिन तयार भए । त्यसपछि शंखरापुर नगरपालिका–६ को वडा कार्यालयको सिफारिस, स्वास्थ्य परीक्षण र डीएनए परीक्षण प्रतिवेदन समेत पेश गरे ।तर अन्तिममा किष्ट मेडिकल कलेजको दिदी भाइको जन्ममितिमा २३ दिनको मात्रै फरक देखिएको भन्दै किष्ट मेडिकल कलेजको समितिले प्रत्यारोपणको सिफारिस गरेन ।
मेडिकल कलेजको निर्णय विरुद्ध राधाले उच्च अदालत पाटनमा मुद्दा हालेकी थिइन् निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले प्रत्यरोपण गर्न अवरोध नगर्नु भनी आदेश गरेको हो । उनीहरु दिदीभाइ भन्ने तथ्य बैज्ञानिक परिक्षणबाट समेत प्रमाणित भएको भन्दै उच्च अदालत पाटनले नागरिकको बाँच्न पाउने र स्वास्थ्यको अधिकारमा अवरोध नगर्न आदेश गरेको हो ।
‘निवेदीका(राधा महर्जन)लाई उनले पाउन सक्ने र पाउनुपर्ने स्वास्थ्य उपचार र त्यस उपचारबाट बाँच्न पाउने अधिकारमा कसैले पनि रोक लगाउन सकिंदैन’, आदेशमा भनिएको छ, ‘उनलाई पुग्न सक्ने अपुरणीय क्षतिको दृष्टिकोणबाट उचित समयमा विरामीले उपचार नपाएको अवस्थामा निजको बाँच्न पाउने र स्वास्थ्य सम्बन्धी हकबाट बञ्चित हुने देखिएकोले अविलम्ब बिरामीको मृगौला प्रत्यारोपण कार्य सुचारु गर्नु, मृगौला प्रत्यारोपण गर्ने काम उनको हकमा नरोक्नु ।’
अदालतको आदेशपछि राधाको मृगौला प्रत्यारोपण भइसकेको छ ।परिवारका अनुसार, उनीहरु दिदीभाइ भए पनि त्रुटीका कारण उनीहरुको नागरिकताको प्रमाणपत्रमा दुई जनाको उमेर २३ दिनको मात्रै फरक थियो । उनीहरुले नागरिकताको प्रमाणपत्र सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि प्रशासनले सहयोग नगरेको उनीहरुको भनाइ छ ।