काठमाडौं ३ असार।एमालेका वरिष्ठ अध्यक्ष तथा सांसद ईश्वर पोखरेलले एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले एसपीपीबारे कुन मितिमा कसले के गरेका थिए भन्नेबारे स्पष्ट पार्न समिति गठनको माग गरेका हुन् ।
एमाले सांसद भीम रावल र कांग्रेस सचेतक पुष्पा भुसालले सन् २०१९ मा नेपाल एसपीपीमा सहभागी भएको र त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीको जिम्मेवारीमा को थियो भन्ने प्रश्नको जवाफमा पोखरेलले उक्त माग गरेका हुन् । 'आउने दिनमा यस्तो तलवितल नहोस् भनेर समिति बन्नुपर्छ । कसको पालामा के भएको थियो भन्ने जान्न समिति बन्नु जरुरी छ,' समिति सभापति पवित्रा निरौला खरेलसँग पोखरेलको माग थियो ।
एसपीपीबारे कुन सरकार र मन्त्रीका पालामा के काम तथा पत्राचार भएका थिए भन्ने समयक्रम स्पष्ट पार्नुपर्ने पोखरेलको भनाइ थियो । 'एसपीपीको क्रोनोलोजीबारे समितिले थाहा पाउनुपर्छ र एसपीपीबारे थाहा पाउनुपर्छ । समितिमा जे मनमा लाग्यो त्यही भनिएको छ र,' उनले भने ।

