गोरखा — गोरखा दरबारको दसैँ घरबाट काठमाडौँ हनुमानढोका फुलपाती पठाइएको छ । हनुमानढोका भित्राउन विधिवत रुपमा फुलपाती काठमाडौ पठाइएको हो । परम्परागत बाजा, फुलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट फुलपाती पठाइएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिए ।गोरखा दरवारको फुलपाती हनुमान ढोका पुगेपछि दसैँको रौनक बढ्ने र दसैँ भित्रियो भन्ने प्रचलन छ । हनुमानढोका फुलपाती पठाउन आइतबार षष्ठिको दिन गोरखा नगरपालिका–९ पिप्लेमा वेल निमन्त्रण पुजा गरेर फुलपाती संकलन गरिएको उनले बताए ।
गोरखा नगर क्षेत्रको पस्लाङ, रिप, अमराई लगायतका बन क्षेत्रबाट संकलन गरेको नवपत्र काठमाडौ पठाइएको उनले बताए । संकलन भएको नवपत्रमध्ये केही गोरखा दरवारमा भित्राउने केही हनुमानढोका लागि पठाउने प्रचलन छ ।
पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फुलपाती हनुमानढोकाको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको भट्टराइले बताए । पृथ्वीनारायण शाहले काठमाडौ विजय पश्चात गोरखा दरवारबाट फुलपाती हनुमानढोका लगेर भित्राउने प्रचलन सुरु भएको उनले बताए ।गोरखाबाट फुलपाती पुगेपछि मात्र हनुमानढोकामा बढ्याइ चल्छ । सडक सुविधा नहुँदा पैदलमार्गबाट लैजाने फुलपाती सडक सञ्जालको विस्तारसँगै सवारी मार्फत लैजाने प्रचलन सुरु भएको थियो ।

