काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन् । बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।
उनले आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए । नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताए । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताए ।आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।
उनले भने, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ । प्रतिनिधिसभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभूति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’
ADVERTISEMENT

