काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।निर्वाचन आयोगसँग मंगलबार भएको छलफलमा उहाँले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताए ।
मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उहाँले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरे।निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो”, मन्त्री खरेलले भने ।
सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उनले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिए ।मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पुर्याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।
गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोहीअनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गरिने बताए ।
ADVERTISEMENT

