काठमाडौं असार, ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगत्तै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । मन्त्री श्रेष्ठले असार १३ गते पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालिन र दीर्घकालिन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए ।
समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरू अध्ययन गरी कार्ययोजना तयार गरेको हो ।प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताउँदै समितिका सदस्यहरुलाई धन्यवाद दिए । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक बर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ ।
ADVERTISEMENT

