वीरगंज - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रमका क्रममा रास्वपाका उम्मेदवार कानुले वीरगञ्ज ड्राइपोर्ट (सुक्खा बन्दरगाह) का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लामो समयदेखि प्रभावित जग्गाधनीहरूले भोग्दै आएका समस्या न्यायोचित ढंगले समाधान गर्न पहल गरिने बताए ।
स्थानीय जग्गाधनीहरूले ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम अपर्याप्त भएको र समयमै नपाएको गुनासो गर्दै आएका छन् । यसले उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा गम्भीर असर पारेको उनीहरूले जानकारी गराएका थिए । साथै, वर्तमान बजार मूल्यअनुसार मुआब्जा पुनरावलोकन गर्नुपर्ने मागसमेत राखेका छन् ।
रास्वपाका उम्मेदवार कानुले निर्वाचित भएपछि सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी तथा प्रभावित परिवारलाई न्याय सुनिश्चित गर्ने दिशामा पहल गर्ने स्पष्ट पारे । उनले सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे ।
घरदैलो कार्यक्रममार्फत स्थानीय टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि ड्राइपोर्ट मुआब्जा समस्या समाधानका लागि ठोस र प्रभावकारी पहलको अपेक्षा व्यक्त गरेका थिए ।
ADVERTISEMENT

