काठमाडौँ । नेकपा माओवादी केन्द्रले वार्ता टोली गठन गरेपनि संवादमै सीमित भएको छ । विभिन्न शक्तिहरुसँग पार्टी एकता वा मोर्चाबन्दी गर्न छलफल गरेपनि टोली संवादमै सीमित भएको हो ।माओवादी केन्द्रले गत पुस २३ गते विभिन्न वाम शक्तिहरुसँग पार्टी एकता गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहाचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल सदस्य छन् ।
महरा नेतृत्वको वार्ता टोली गठन भएको चार महिना हुँदा पनि वार्ता गरेर कुनै परिणाम निकाल्न सकेको छैन । चार महिनाको अवधिमा कुनै पार्टीसँग एकता गर्नेगरी समझदारी गर्न सकेको छैन । तर, वार्ता टोलीले भने विभिन्न शक्तिसँग संवाद जारी राखेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग संवाद गरी सकेको छ ।
बाबुराम नेतृत्वको नेसपासँग धेरै चरणमा छलफल भएपछि प्रधानमन्त्री प्रचण्ड र बाबुराम बसेर एकता टुंगो लगाउने समझदारी भएको थियो । अन्तिमता प्रचण्ड बाबुरामबीच समेत एकता हुन सकेको छैन । तर, वार्ता टोलीका सदस्य एवं पार्टी महासचिव देव गुरुङले वार्ता टोलीले विभिन्न पार्टीहरूसँग छलफल गरिरहेको बताए । कतिपय पार्टीसँग एकता हुनेगरी अन्तिममा पुगिएको गुरुङले बताए ।

