
महरा नेतृत्वको वार्ता टोली गठन भएको चार महिना हुँदा पनि वार्ता गरेर कुनै परिणाम निकाल्न सकेको छैन । चार महिनाको अवधिमा कुनै पार्टीसँग एकता गर्नेगरी समझदारी गर्न सकेको छैन । तर, वार्ता टोलीले भने विभिन्न शक्तिसँग संवाद जारी राखेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग संवाद गरी सकेको छ ।
बाबुराम नेतृत्वको नेसपासँग धेरै चरणमा छलफल भएपछि प्रधानमन्त्री प्रचण्ड र बाबुराम बसेर एकता टुंगो लगाउने समझदारी भएको थियो । अन्तिमता प्रचण्ड बाबुरामबीच समेत एकता हुन सकेको छैन । तर, वार्ता टोलीका सदस्य एवं पार्टी महासचिव देव गुरुङले वार्ता टोलीले विभिन्न पार्टीहरूसँग छलफल गरिरहेको बताए । कतिपय पार्टीसँग एकता हुनेगरी अन्तिममा पुगिएको गुरुङले बताए ।