काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी अधिवेशनको पहिलो एजेण्डा बनाउन प्रमुख तीन दल सहमत भएका छन् ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ ।
विधेयकका अधिकांंश विषयमा सहमति जुटाएको उपसमितिले चार विषयमा तीन दलको शीर्ष तहमा सहमति खोजिएको थियो ।सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा चार वटै विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।बैठकपछि एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने, ‘केही दिनमा पुनः शीर्ष नेताहरुको छलफल गर्ने र संसदको आगामी अधिवेशनमा लैजाने निष्कर्ष छ ।आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । तीन नेताले विधेयकबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकसँग ब्रिफिङ लिएका थिए ।
आइतबार भएको सहमति अनुसार सोमबारको छलफलमा तीन दलबाट अरु नेता पनि सहभागी भएका थिए । कांग्रेसबाट उपसभापतिद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री धनराज गुरुङका साथै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी भएका थिए ।एमालेबाट सचेतक बर्तौला र पूर्वकानुनमन्त्री अग्नि खरेल र माओवादीबाट उपसमहासचिव वर्षमान पुन र खिमलाल देवकोटा पनि सहभागी भएका थिए ।
एक सहभागीका अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । आफू प्रधानमन्त्री भएको बेला नै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोजेको भएपनि प्रचण्डहरुले नै सहयोग नगरेको गुनासो गरे । ‘अहिले साँच्चै टुंग्याउन खोजेको हो भनेर पनि सोध्नुभयो’, उनले सुनाए ।कांग्रेस र माओवादीका नेताहरुले सकारात्मक जवाफ दिएपछि संसदीय उपसमितिले सहमति खोजेका चारवटै विषयमा झण्डै डेढ घण्टा छलफल भएको थियो ।
संसदीय समितिले शीर्ष सहमति खोजेको चार विषय
- मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको– स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने ।
- सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने
- मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?
- घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने ।

