नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले लुटपाटको सामान तत्काल फिर्ता गर्न सार्वजनिक आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले आज एक सार्वजनिक सूचना जारी गरी सामान फिर्ता गर्न आग्रह गरेका हुन् । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा २४ गते दिउँसो र राती नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा भएको आगजनी, लुटपाट तथा विध्वसांत्मक क्रियाकलापबाट उपमहानगरपालिका र माताहतका वडा कार्यालयहरुका मेसिनरी औजार लगायतका जिन्सी सामग्रीहरु र कार्यालयको भौतिक पूर्वाधार, महत्वपूर्ण दस्तावेज/कागजात अभिलेखहरुको चोरी, लुटपाट तथा आगजनी भएको सर्वविदितै छ,सार्वजनिक सूचनामा भनिएको छ-
"उक्त अपराधिक कार्य गर्नेहरुको भिडियो फुटेज तथा फोटाहरु कार्यालयमा तथा अनुसन्धान गर्ने निकायहरुमा आउने क्रम जारी रहेको हुँदा त्यस्ता अवान्छित चोरी तथा लुटपाटका गतिविधिमा संलग्न व्यक्तिहरु भविष्यमा कानुनी कारवाहीको दायरामा आउने निश्चित रहेको छ । अतः लुटपाट गरिएका सामग्रीहरु बजारमा बेचविखन विक्रि भइरहेको अपुष्ट सूचनाहरु समेत आइरहेको हुँदा सम्बन्धित व्यक्तिले लुटपाट गरेका सामग्रीहरु तत्काल फिर्ता गर्नुहुन एंव लुटपाट भएका सामग्रीहरुको खरिद विक्रि एंव संचय समेत नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा आह्वान गरिन्छ ।


