वीरगञ्ज - जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार अशोक कुमार टेमानी ले मधेसी समुदायले प्राप्त गरेका अधिकार संरक्षणका लागि यसपटकको निर्वाचनमा पार्टीको ‘छाता’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरेका छन्।
वीरगञ्ज महानगरपालिका–३ छपकैया क्षेत्रमा आयोजित रात्रि कोणसभालाई सम्बोधन गर्दै उनले सङ्घीयता, लोकतन्त्र र मधेसी अधिकारमाथि खतरा बढेको दाबी गरे। प्राप्त अधिकार जोगाउन सजग र सचेत भई मतदान गर्नुपर्ने उनको भनाइ थियो।
टेमानीले पर्सा जिल्लाको विकासका लागि रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै आगामी पाँच वर्षमा उद्यमशीलता प्रवर्द्धन, उद्योग स्थापना तथा स्वरोजगार कार्यक्रममार्फत १० हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मी सहित पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

