वीरगंज - पर्सा क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी विरुद्ध पार्टी प्रवेशको नाममा भ्रम फैलाएको आरोप लागेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ गदियानी निवासी हजरत भनिने नैजुल होदाले उक्त आरोप लगाएका हुन्।
उनका अनुसार बिहीबार सुरेन्द्र चौधरीसँग सामान्य भेटघाट मात्र भएको थियो, तर त्यसलाई कांग्रेस प्रवेशका रूपमा प्रचार गर्नु गलत रहेको बताए । “सुरेन्द्र चौधरीजीसँग बिहीबार भेटघाट भएको हो, तर हामी कुनै पनि पार्टीमा प्रवेश गरेका छैनौं,” उनले स्पष्ट पारे ।
हजरतले आफूहरू हाल पनि नेकपा (एमाले) का उम्मेदवार रुपेश पाण्डे कै समर्थनमा रहेको दाबी गरे । उनले सामाजिक सञ्जालमार्फत आफूहरू कांग्रेस प्रवेश गरेको भन्दै सार्वजनिक गरिएको समाचार भ्रामक रहेको उल्लेख गरे ।
बिहीबार हजरतसहित केही युवाहरू कांग्रेसमा प्रवेश गरेको दाबी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो । तर शुक्रबार बिहान मात्र उनीहरूले कांग्रेस प्रवेश नगरेको स्पष्ट पारेपछि पर्सा–३ मा उम्मेदवार चौधरीले पार्टी प्रवेशको झुटो अफवाह फैलाएको चर्चा सुरु भएको छ ।
यस विषयमा उम्मेदवार चौधरीको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त हुन सकेको छैन ।
ADVERTISEMENT

