वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले मतदातासँगको प्रत्यक्ष संवादलाई केन्द्रमा राख्दै चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले औपचारिक सभा भन्दा घरदैलो र परिचयात्मक कार्यक्रम लाई प्राथमिकता दिँदै स्थानीय मतदातासँग निरन्तर भेटघाट गरिरहेका छन्।
क्षेत्र नम्बर २ का विभिन्न टोल र बस्तीहरूमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेपछि उम्मेदवार टेमानीप्रति जनताको आकर्षण क्रमशः बढ्दै गएको देखिन्छ। भाषणमुखी प्रचारभन्दा संवादमुखी अभियान अवलम्बन गरेकाले उनको चुनावी गतिविधि अझ प्रभावकारी बनेको स्थानीयको भनाइ छ।
यसैक्रममा सोमबार टेमानी पर्सागढी नगरपालिका वडा नम्बर ३ अन्तर्गत बड्नियार, पकडिया टोल, चौधरी टोल तथा झावराह टोल का बासिन्दासँग संवाद कार्यक्रममा सहभागी भएका थिए। उनले स्थानीयको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए।
घरआँगनमै उम्मेदवारसँग प्रत्यक्ष भेट्न पाउँदा स्थानीयवासी उत्साहित देखिएका थिए। संवादका क्रममा स्थानीयले सडक तथा नाला व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको स्तर सुधार, सिँचाइ सुविधा, मल–बीउको सहज उपलब्धता र कृषिउपजको उचित मूल्य नपाएको गुनासो राखेका थिए।
स्थानीयले उठाएका मुद्दाहरूलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उम्मेदवार टेमानीले व्यक्त गरेका छन्। घरदैलो कार्यक्रमलाई संवादकेन्द्रित बनाइएकै कारण पर्सा–२ का मतदातामा नयाँ आशा र परिवर्तनको अपेक्षा बढेको स्थानीय बताउँछन्।
पर्सागढी–३ का विभिन्न टोलहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिसम्बन्धी समस्या गम्भीर रहेको उल्लेख गर्दै स्थानीय मतदाताहरू यसपटक सचेत निर्णयसहित मतदान गर्ने मनस्थितिमा रहेको बताएका छन्। विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै, यस निर्वाचनमा परिवर्तनको पक्षमा मत हाल्ने संकेत उनीहरूले गरेका छन्।

