वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका–आदर्शनगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।
घरदैलो अभियानका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार टेमानी (अग्रवाल) ले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। उनले आगामी निर्वाचनमा छाता छापमा मतदान गर्न आग्रह गर्दै सो चुनाव चिन्हलाई सङ्घीयता, समावेशिता, सुशासन र समृद्धिको प्रतीकका रूपमा व्याख्या गरे।
टेमानीले मधेसको विकास र जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै छाता छापले जनताको आवाजलाई सङ्घीय संसद्मा प्रभावकारी रूपमा पुर्याउन सहयोग गर्ने दाबी गरे।
उनका अनुसार औद्योगिक विकास, रोजगारी सृजना, पूर्वाधार विस्तार तथा स्थानीय समस्याको दीर्घकालीन समाधान उनका प्रमुख प्राथमिकतामा रहेका छन्। साथै उनले मधेसका मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै जसपाले वीरगञ्जका विभिन्न वडामा प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाउने जनाएको छ।
ADVERTISEMENT

