काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानाले स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुङ्गानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।
नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासङ्घको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताए । प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै उनले अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्ने चेतावनी दिए ।
अध्यक्ष ढुगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौँमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरे । 'यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौँ आउनुपर्ने हुन्छ म सबै स्थानीय सरकार प्रमुखहरूलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु', उनले भने । उनले सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान समेत चेतावनी दिए ।

