काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् ।बालुवाटारमा सोमबार साँझ भएको भेटमा उनीहरूबिच नेपालको विकास र विश्व बैंकले नेपालमा पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताए ।
आफू नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाए । प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचना प्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मक रूपमा फाइदा लिन सकिने बताए ।नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

